|

विवाह पञ्चमी : सीता स्वयम्वर र विवाह धूमधामको साथ आज

20 दिन पहिले     34 सामग्री पोस्ट दृश्य

समाचार

सामग्री लेखक:   Ashok Kumar Mandal

   

भगवान सीताराम विवाह महोत्सव धुमधामका साथ मनाइँदैछ । सीताराम विवाह पञ्चमी महोत्सवको मूल समारोह आज रहेको छ ।

आज जानकी मन्दिरमा विशेष पूजा का साथ हुनेछ । मन्दिरमा दर्शन पूजा निरन्तर चलिरहनेछ । दिउँसो जानकी मन्दिरबाट स्वयम्वरका लागि माता सीताको डोला बाजागाजासहित रंगभूमि मैदान(बाह«बिघा)का लागि प्रस्थान गर्नेछ ।

जानकी मन्दिरबाट डोला प्रस्थान गरेसँगै राम मन्दिरबाट फरक मार्ग भएर भगवान रामको डोला स्वयम्वरका लागि रंगभूमि मैदान पुग्नेछ । विवाह महोत्सवको दिन रंगभूमि मैदानमा भगवान सीतारामको स्वयम्वर हुने चलन छ ।

त्रेता युगमा सीता स्वयम्वरको दर्शन गर्न सबै भगवान विभिन्न रुप धारण गरी जनकपुरधाममा आएको रामायणमा वर्णन गरिएको छ । भगवान रामको डोलालाई भगवान जानकीको डोलाले परिक्रमा गर्छ । पुष्पवृष्टि गर्दै श्रद्धालुहरुले जयजयकार गर्छन् । त्रेता युगमा देवताहरु आएको संस्मण गर्दै जनकपुरधाममा रहेका अधिकांश मठमन्दिरबाट भगवानहरुलाई रथ, डोलामा सजाएर बाजागाजा सहित रंगभूमि मैदानमा ल्याइन्छ ।

भगवान सीतारामको स्वयम्वर सम्पन्न भएपछि राम जानकीको डोलासहित विभिन्न मन्दिरका डोला, झाँकीहरु सहितको शोभायात्रा नगरपरिक्रमा गर्दै जानकी मन्दिरमा पुग्नेछ ।

भगवान जानकीको डोला जानकी मन्दिर परिसरमा पुगेपछि वैवाहिक कार्यक्रम प्रारम्भ हुने उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले बताए । मन्दिरको बाहिरी परिसरमा वैवाहिक कार्यक्रम अबेर रातिसम्म चल्नेछ । मिथिलाको परम्परा अनुसार भगवान सीतारामको विवाह सम्पन्न गरिनेछ । वैवाहिक कार्यक्रममा लाखौँ श्रद्धालुहरुको सहभागिता रहने छ ।

जनकपुरधामको प्रायःसबै चोक, सडक र सार्वजनिक स्थलहरुमा श्रद्धालुहरु बास बसेका छन् । भारतको अयोध्याबाट आएका जन्ती स्वयम्वर र वैवाहिक कार्यक्रममा सरिक हुनेछन् । अयोध्या राम मन्दिर ट्रष्टका सचिव चम्पत्त राय, विश्व हिन्दू परिषद् अयोध्याका महासचिव राजेन्द्र सिंह ‘पंकज’ लगायत पाँच सय बढी सन्तमहन्तहरु जन्तीको रुपमा जनकपुरधाममा छन् ।

सीताराम विवाह महोत्सवको पाँचौ दिन बिहीबार भगवान जानकीको मटकोर गरिएको थियो । जानकी मन्दिरबाट जानकीको प्रतीकसहित शोभायात्रा पवित्र गंगासागर पुगेको थियो । हजाराँै श्रद्धालुहरुको सहभागिता रहेको मटकोर विधि मिथिलामा विवाहको पूर्व हुने अत्यन्त महत्वपूर्ण मानिन्छ । मटकोरमा मन्दिरका उत्तराधिकारी महन्तलगायत पुजारी र मन्दिरका सखीहरुले मिथिला परम्परा अनुसारको विधिविधान पूरा गरे । मटकोर पूजा सम्पन्न भएपछि मात्र मिथिलामा विवाह हुने चलन छ ।

साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलवारी लीला, तेस्रो दिन धनुष यज्ञ चौथो दिन तिलकोत्सव र पाँचौ दिन मटकोर पूजाको विधि बिहीबार सम्पन्न भएको छ । शुक्रबार विवाह उत्सव सम्पन्न भएपछि शनिबार रामकलेवा गरिनेछ । बेहुली पक्षको तर्फबाट जानकी मन्दिर परिसरमा अयोध्याबाट आएका जन्ती सहित सन्तमहन्त, श्रद्धालु भक्तजनहरुलाई विदाइ भोज गरिनेछ । रामकलेवा पछि जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले अयोध्याबाट आएका जन्तीहरुलाई स–सम्मानसहित दक्षिणा दिएर विदाई गरिने बताइएको छ ।

हरेक पाँच वर्षमा अयोध्याबाट विशेष झाँकी, रथसहितको जन्ती आउने चलन छ । यद्यपि हरेक वर्ष विवाह महोत्सवमा सहभागिताका लागि अयोध्याबाट ठूलो संख्यामा साधुसन्त, श्रद्धालु भक्तजनहरु आउने गर्छन् । भगवान सीतारामको वैवाहिक कार्यक्रममा सहभागी हुन सबै लोकका देवदेवीहरु जनकपुरधाम आएको रामायणमा वर्णित छ । जन्ती सहित आएका महराज दशरथको स्नान र आवासको विशेष व्यवस्था गरिएको थियो ।

राजा दशरथ स्थान गर्ने सरोवर दशरथ तलाउ (महराज सागर) र त्यसको डिलमा दशरथ मन्दिर अझै विद्यमान छ । माता सीताको आवास सुन्दर सदनमा पनि वैवाहिक महोत्सवको आयोजन गरिएको छ । कमलानदीबाट मटकोर गरी माटो ल्याइएको महन्त नवलकिशोर शरणले बताए । ‘कमलानदीबाट मटकोर गरी माटो ल्याइएको छ ’उनले भने, शुक्रबार विवाहोत्सव कार्यक्रम हुनेछ । जनकपुरधामको प्राय :सबै मठमन्दिरहरुमा विवाह महोत्सवको अवसरमा विशेष भजन कीर्तनहरु ग्रिएको छ ।

जानकी मन्दिरमा सहनाई गुञ्जयमान छ । जनकपुरधाम नै विवाहमय बनेको छ । नगरको हरेक घरलाई झिलीमिली बनाइएको छ । संसारमै जनकपुरधाममा मात्र भगवान रामलाई गाली गर्दै मिथिलानीहरु ीववाह उत्सव मनाइरहेका छन् । जनकपुरधाममा भगवान रामलाई गाली गर्दै मनोरञ्जन गराइँने चलन छ ।