|

शिक्षा सबैको पहुँचभन्दा बाहिर:-डा. सि. के. राउत

2 वर्ष पहिले     300 सामग्री पोस्ट दृश्य

समाचार, व्यापार, प्रबिधि

सामग्री लेखक:   Ashok Kumar Mandal

   

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ नजिकिदै जादा डा. सि. के. राउत नेतृत्वको जनमत पार्टी प्रति मतदाताहरु यति वेला आकर्षित भई रहेका छन् । सप्तरीको क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका डाक्टर राउतले रोजगारी, किसानको समस्या, भ्रष्टाचारमुक्त, निःशुल्क शिक्षा, सर्वशुलभसाथै निःशुल्क स्वास्थ्य, प्रत्यक्ष लोकतन्त्र लगायतका विभिन्न क्षेत्रमा सक्रिय भएर कार्य गर्ने बताएका हुन् ।

उनका अनुसार देशमा विभिन्न कारणले गर्दा अझै पनि शिक्षा सबैको पहुँचभन्दा बाहिर रहनुका साथै यो परम्परागत जीर्ण प्रणालीमा आधारित रहेको छ । नेपालमा ५ वर्ष माथिका उमेरको साक्षरता दर ६५.९% रहेको छ भने, अझै पनि २८.२% (१९.५% पुरुष र ३६.२% महिला) बच्चाहरू कहिले पनि विद्यालय जाँदैनन् । त्यस्तै ११.९% शहरी क्षेत्रका बच्चाहरू र २४.१% ग्रामीण क्षेत्रका बच्चाहरू कहिले विद्यालय जाँदैनन् ।

दैनिक भोजन, छात्रावास, आवागमन सुविधा, साइकिल, शैक्षिक सामग्री, पोशाक आदि दिँदै विशेष कार्यक्रमहरू ल्याई विद्यालय जान नसकेका सबै बच्चाहरूको विद्यालय भर्ना सुनिश्चित गरिने उनको भनाई छ । यसका साथै शिक्षा क्षेत्रमा दीगो विकास लक्ष्य हासिल गर्ने गरी कार्यक्रमहरू ल्याइनेछ । छोरीलाई र ग्रामीण क्षेत्रका बच्चाहरूलाई पढाउन प्रोत्साहित गर्ने तथा तिनीहरूलाई उच्च शैक्षिक स्तर सम्मै शिक्षा हासिल गर्न प्रोत्साहित गर्ने खालका कार्यक्रमहरू ल्याइनेछ । शैक्षिक क्षेत्रलाई राजनैतिक हस्तक्षेपबाट मुक्त राखी, विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्दै, बंद–हडताल सहितका गतिविधिहरूबाट विद्यालय तथा शैक्षिक संस्थाहरूलाई टाढा राखिने डा. राउतको तर्क छ ।

डा. राउतले दिइएको जानकारी अनुसार बच्चाहरूलाई शिक्षा दिई असल र सक्षम नागरिक बनाएर देशलाई योगदान दिइरहेका शिक्षकहरूको मनोबल वृद्धि गर्न र शिक्षण पेशालाई आकर्षक बनाई “बेस्ट एंड ब्राइटेस्ट”लाई यस पेशामा तान्न शिक्षकहरूको तलब समान स्तरको अरू सरकारी कर्मचारी भन्दा २०% बढी बनाउँदै अन्य आकर्षक सुविधा र अधिकारहरू पनि प्रदान गर्नुका साथै राष्ट्रिय शिक्षाबाट अन्तरराष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादन गर्न तथा सरकारी र निजी क्षेत्रको शिक्षामा रहेको विषमता हटाउन सम्पूर्ण शिक्षाको माध्यम अंग्रेजी बनाउँदै मातृभाषा तथा सरकारी र प्रशासनिक कामकाजको भाषा सहितका भाषाहरूलाई विषयगत रुपमा पढाउने प्रभावकारी व्यवस्था गरिनेछ ।
+२ सम्मको सम्पूर्ण शिक्षा निःशुल्क र उच्च अध्ययन गर्न चाहनेहरूको लागि पनि न्यूनतम शुल्कमा शिक्षा आर्जन गर्ने विकल्प सदैव उपलब्ध हुने सुनिश्चितता तथा हरेक व्यक्ति आर्थिक रुपले आत्मनिर्भर हुने तथा राष्ट्रिय अर्थतन्त्र र राज्य संचालनमा योगदान दिन सक्ने खालको उपयुक्त परिमार्जित शिक्षा प्रणाली लागू गरिनेछ । व्यवसायिक, प्राविधिक तथा व्यवहारिक जीवनमा उपयोगी हुने शिक्षालाई विशेष जोड़ दिइने डा. राउतले जानकारी दिए ।

‘राष्ट्रिय बजेटबाट शिक्षाको लागि उपयुक्त मात्रामा प्राथमिकताका साथ लगानी छुट्टयाउन लगाई आवश्यक शैक्षिक पूर्वाधार र भौतिक संरचनाहरूको निर्माण गर्नुका साथै आधुनिक शिक्षण सामग्री र व्यवहारिक शिक्षालाई बढावा दिने शिक्षण–कक्ष र प्रयोगशालाहरूको निर्माण आधारभूत स्तरदेखि गर्नुका साथै हरेक विद्यालयमा सुरक्षित भवन, फर्निचर, बिजली, फोन÷फ्याक्स÷इन्टरनेट, पुस्तकालय, हरेक कक्षा कोठामा प्रोजेक्टर सहितका शैक्षिक सामग्री, अडिटोरियम, प्रयोगशाला, शौचालय, खानेपानी, क्यान्टीन, छात्रावास, प्ले ग्राउन्ड, खेलकुद सामग्री आदिको व्यवस्था गर्ने’ जनमत पार्टीका अध्यक्ष समेत रहेका डा. राउतले भने – ‘हरेक विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग अनिवार्य गरिनुका साथै इ–लाइब्रेरीको स्थापना गरी ट्याबलेट, ल्यापटप, विडियो कन्फेरेन्स आदिको प्रयोग गरी शिक्षा हासिल गर्ने वातावरण बनाइनेछ ।’
सरकारी शिक्षामा रहेको स्थूलता र निजी क्षेत्रमा रहेको अत्यधिक नाफामूलक व्यवसायिकतालाई अन्त गर्दै सरकारी क्षेत्रमा लगानी वृद्धि गर्दै तथा निजी क्षेत्रमा नियमन गर्दै दुइटै क्षेत्रमा समान आकर्षण र शिक्षाको अवसर प्राप्त हुने गरी सुधारका नीतिहरू ल्याइने पार्टीको घोषना पत्रमा उल्लेख छन् ।

खुला विश्वविद्यालयलाई प्रभावकारी ढंगले सञ्चालनमा ल्याउनुका साथै यसको विषयमा उचित प्रचार–प्रसार गरी सबै क्षेत्रका जनताका लागि सहज ढंगमा पहुँच हुने गरी यसको विस्तार गर्ने र खुला विश्वविद्यालयमा शिक्षाको सटीक मापदण्ड स्थापित गरी त्यसबाट शिक्षा आर्जन गरेकाहरूले समान मान्यता पाउने र रोजगारीका अवसरहरूमा तिनीहरूलाई कम प्राथमिकतामा राख्ने वा वंचित गर्ने गरी विभेद नगर्ने खालको वातावरण बनाइने डा. राउतले बताए ।