१६ बैशाख २०८२,Tuesday | 04:06:14 AM

काठमाडौं महानगरमा तलब निकासा सुरू

22 दिन पहिले     32 सामग्री पोस्ट दृश्य

समाचार

सामग्री लेखक:   Ashok Kumar Mandal

   

काठमाडौं महानगरपालिकाले रोकिएको तलब एकमुष्ट रुपमा वितरण गर्न थालेको छ । प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईंले कमब्याक गरेसँगै तलब निकासा सुचारु भएको हो ।

 

प्रशासन नेतृत्वविहीन हुँदा ४ हजारभन्दा बढी शिक्षक-कर्मचारी तथा जनप्रतिधिको तलब रोकिएको थियो । शिक्षकहरूले ५ महिनाको र कर्मचारीहरुले तीन महिनाको (चैतसम्म) तलब पाउन बाँकी छ । प्रशासकीय अधिकृत गुरागाईं गत विहीबार कार्यालयमा हाजिर भएपछि तलब निकासालाई पहिलो प्राथमिकतामा राखेका थिए ।

महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले रोकिएको तलब वितरण आजबाट सुरू भएको बताए । आजैमात्र आधाभन्दा बढी कर्मचारीको तलब निकासा भइसकेको उनले जानकारी दिए ।

 

‘ठूलो संख्यामा कर्मचारी छन् । हामीले पठाइसकेपछि प्रत्येकको खातामा ट्रान्सफर गर्न बैंकलाई पनि टाइम लाग्छ । आजबाट सुरू भयो । अब यो हप्ताभरिमा सबैको सकिन्छ,’ उनले भने । महानगर अन्तरगत तलब खाने स्थाइ, करार, दोहोरो हाजिरदेखि ज्यालादारीसम्मका कर्मचारी छन् । कुल मिलाएर ४ हजारभन्दा बढी जनशक्ति रहेको महानगरले जनाएको छ । उनीहरुमध्ये १७ सयभन्दा बढी शिक्षक हुन् । सबैलाई चैतसम्मको तलब पठाइँदै छ ।

महानगरले प्रत्येक महिना कर्मचारीको तलबमा साढे १२ करोड रूपैयाँ खर्च गर्छ । यसपटक चैतसम्मको एकमुष्ट तलब खुवाउन ४० करोड रूपैयाँ हाराहारी खर्च गर्नुपरेको काफ्लेले बताए । महानगरले एनआइसी बैंक र नेपाल बैंकमा सबैको खाता खोलेर तलब हालिदिने गरेको छ ।

स्रोतका अनुसार महानगरका प्रमुख बालेन्द्र साहको तलब निकासा भइसकेको छ । अरु जनप्रतिनिधि र कर्मचारीसँगै उनले पनि माघदेखिको तलब पाएका थिएनन् ।