|

गठबन्धनमा ‘पावर सेयरिङ’ : कांग्रेस ०७४ कै मोडलको पक्षमा, दाबी बढाउँदै प्रचण्ड

2 वर्ष पहिले     478 सामग्री पोस्ट दृश्य

समाचार, प्रबिधि

सामग्री लेखक:   Ashok Kumar Mandal

   

नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले नयाँ सरकार गठनको कसरत थालेको छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाले संसदीय दलको नेता चयन गरेपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको हो ।कांग्रेसका ८९, माओवादीका ३२, एकीकृत समाजवादीका १०, लोसपाका ४ र राष्ट्रिय जनमोर्चाका १ गरी पाँच दलीय गठबन्धनसँग १ सय ३६ सांसद छन् । यो गठबन्धनलाई बहुमत जुटाउन दुई सांसद अपुग भएको अवस्था छ । ६ सिट रहेको जनमत पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।जनमत पार्टीको साथले कांग्रेस नेतृत्वको गठबन्धनलाई केन्द्रमा बहुमत पुगे पनि सातै प्रदेशमा सत्ता गठबन्धनको सरकार बनाउन जसपालाई पनि साथमा लिनुपर्ने बाध्यता छ । प्रदेश १, मधेस प्रदेश र लुम्बिनीमा जसपाको समर्थन हुँदा गठबन्धनलाई सरकार बनाउन सहज बहुमत पुग्ने देखिन्छ ।

यद्यपि सरकार गठनबारे आफूहरुसँग घनीभूत छलफल नभएको जसपाका प्रवक्ता मनिष सुमनले रातोपाटीलाई बताए । राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सहभागी हुन इच्छुक देखिएको छ । जसपा र रास्वपा नयाँ सरकारमा सहभागी भए सत्ता गठबन्धन दुई तिहाइ नजिक पुग्ने छ ।

सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादीले जसपा र रास्वपालाई पनि सरकारमा सहभागी गराउने गरी छलफल थालेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसपा अध्यक्ष उपेन्द्र यादव र रास्वपा सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन आग्रह गरेको बुझिएको छ ।

कांग्रेस भने जनमत र नागरिक उन्मुक्तिलाई मात्र लिएर अगाडि बढ्ने सोचमा छ । कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा र रास्वपालाई खासै महत्व नदिएको देखिन्छ  । सरकार पहिलो कार्यकाल हत्याउने दाउमा रहेका देउवा र प्रचण्ड आफू अनुकुलको रणनीति बनाइराखेका छन् ।

देउवाले ३ पुसमा केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट कांग्रेसकै नेतृत्वमा सरकार बनाउने संस्थागत निर्णय गराइसकेको अवस्था छ भने प्रचण्डले पनि आफ्नो नेतृत्वका लागि दबाब बढाइरहेका छन् । गठबन्धन सम्बद्ध एकीकृत समाजवादी र बाहिरका दल आफ्नो पक्षमा रहेको भन्दै प्रचण्डले बार्गेनिङ पावर बढाएको कांग्रेस नेताहरुको बुझाइ छ ।

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र सात प्रदेशका मुख्यमन्त्री प्याकेजमा टुङ्ग्याएर पहिलो चरणमै आफू प्रधानमन्त्री हुनुपर्ने प्रचण्डको अडान छ । तर कांग्रेसले एमाले–माओवादी गठबन्धनको २०७४ को मोडल अनुसार पावर सेयरिङ गर्ने योजना बनाएको छ । ​