2 वर्ष पहिले 325 सामग्री पोस्ट दृश्य
समाचार, प्रबिधि
सामग्री लेखक: Ashok Kumar Mandal
हिउँद लागेसँगै मङ्सिरसम्म नेपालले भारतमा निर्यातभन्दा उच्च मात्रामा त्यहाँबाट विद्युत् आयात गर्न थालेको र पुसबाट निर्यात लगभग पूरै रोकिने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ताले बीबीसीलाई बताएका छन्।
"२७ मङ्सिरको विवरण अनुसार हामीले करिब २३ सय मेगावाट आवर विद्युत् आयात गर्यौँ भने ८ सय मेगावाट आवरजति विद्युत् निर्यात गर्यौँ," प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भने।
"हिमाली स्रोत भएका नदीहरूमा वहाव निरन्तर कम हुने क्रममा छ। पुस लागेसँगै निर्यात लगभग पूरै रोकिन्छ।"
तर स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्षले भने विद्युत् उत्पादन उच्च मात्रामा बढाइए पनि सोही अनुसार खपतको रणनीति नबन्दा बर्खामा बिजुली खेर जाने र हिउँदमा अभाव हुने अवस्था रहेको जनाउँछन्।
"विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिँदा यी धेरै समस्या समाधान हुन्छन् भन्ने हाम्रो विश्वास छ," इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्य भन्छन्।
"केही अघिसम्म एक्लो खरिदकर्ताका रूपमा रहेको विद्युत् प्राधिकरणले सबै विद्युत् नकिनेको अवस्था समेत थियो।"
कसरी हुन्छ व्यवस्थापन?
प्राधिकरणका अधिकारीहरूले जुनकुनै अवस्थामा नेपालमा लोडसेडिङ नदोहोरिने भन्दै निश्चिन्त रहन भनेका छन्।
हाल सस्तोमा किन्नुपर्ने समयमा भारतबाट विद्युत् आयात गर्ने र केही महँगो पर्ने बेलामा निर्यात गर्ने रणनीतिमा रहेर आफूहरूले काम गरिरहेको प्राधिकरणका अधिकारीहरू बताउँछन्।
प्रवक्ता भट्टराई भन्छन्, "हामीसँग उच्च बाँध तथा जलाशययुक्त परियोजना छन्। कालिगण्डकी, तामाकोशी, मर्स्याङ्दीजस्ता ठूला जलाशययुक्त परियोजना छन्। जसले हाम्रो अनुकूलतामा विद्युत् व्यापार गर्न सहयोग पुर्याइरहेको छ।"
इन्डियन इनर्जी एक्सेन्जको बोलपत्रको ढाँचामा धेरैजसो रातिको समयमा विद्युत् आयात सस्तो पर्ने गरेको प्राधिकरणका अधिकारीहरूको अनुभव छ।
साँझ ५ देखि ९ बजेसम्मको समय भने विद्युत् व्यापारका लागि सबैभन्दा महँगो मानिन्छ जतिखेर ३ गुणासम्म विद्युत् महँगो पर्नेगर्छ।
"तर बाँकी हिउँदभर सस्तो समयमा मात्र बिजुली खरिद गरेर व्यवस्थापन गर्न सकिन्छ," भट्टराई भन्छन्।
तामाकोशीजस्ता परियोजनाले नेपालको अनुकूलतामा बिद्युत् व्यापार गर्न सहयोग पुर्याइरहेको बताइन्छ
तामाकोशीजस्ता परियोजनाले नेपालको अनुकूलतामा बिद्युत् व्यापार गर्न सहयोग पुर्याइरहेको बताइन्छ
पश्चिम नेपालमा जटिलता
पश्चिम नेपालमा उत्पादित विद्युत्ले त्यस क्षेत्रको माग पूरा नगर्ने र नेपालको पूर्वी क्षेत्रबाट उत्पादित बिजुली त्यहाँसम्म पुर्याउँदा त्यसको भोल्टेज एकदमै कम हुने अवस्था छ।
साथै पूर्वाधारको अभाव समेतले गर्दा सुदूरपश्चिमतर्फ भारतमाथि अझै केही वर्ष निर्भर रहनुपर्ने अवस्था रहेको बताइन्छ।
देशका अन्य क्षेत्रमा भने प्राविधिक समस्या आउँदा मात्रै भारतबाट बिजुली लेनदेन गर्ने गरिएको छ।
"ती केही प्राविधिक जटिलताका कारण पश्चिम नेपालमा भने महँगो पर्ने समयमा समेत भारतबाट विद्युत् किनिरहनुपर्ने बाध्यता छ," प्रवक्ता भट्टराई भन्छन्।
"त्यहाँ बेलाबखत चौबिसै घण्टा विद्युत् किन्नुपर्ने अवस्था समेत आउँछ।"
अन्य समस्या कस्ता
हाल नेपालको विद्युत् प्रणालीमा सरदर २ हजार मेगावाट बिजुलीको माग रहेको बताइन्छ।
तर ठूला प्रसारणलाइन र सबस्टेसनहरू समयमा पूरा नहुँदा उच्च विद्युत् माग हुने मुख्य औद्योगिक कोरिडोरसहितका ठाउँमा सोहीअनुसार बिजुलीको उपलब्धता हुन नसकेको प्राधिकरणका अधिकारीहरू स्विकार्छन्।
"जसले गर्दा केही स्वतन्त्र ऊर्जा उत्पादकहरूले सोचे जसरी विद्युत् प्रयोगमा नआएर खेर गएको अवस्था हो," प्राधिकरण प्रवक्ता भट्टराई भन्छन्।
इप्पानका अध्यक्षले उत्पादन बढि वा कम हुँदाको समयमा के गर्ने भन्ने रणनीति नहुँदा कैयौँ पक्षमा जटिलता देखिएको बताउँछन्।
"हालको अवस्थामा हामी ७ हजार मेगावाटको पीपीए (विद्युत खरिद सम्झौता) गर्न रोकेर बसेका छौँ, २५ मेगावाट ऊर्जा उत्पादनको तयारी भइरहेको अवस्था छ, २२ हजार मेगावाट बराबरका आयोजना पहिचान भएर बसेको अवस्था छ।"
हाल नेपालको जडित विद्युत् उत्पादन क्षमता झण्डै २२०० मेगावाट छ।
5 दिन पहिले
21 दिन पहिले
21 दिन पहिले
2 महीना पहिले