|

मधेशमा मृत जरायो र हतियारसहित ५ जना सिकारी पक्राउ

2 वर्ष पहिले     264 सामग्री पोस्ट दृश्य

समाचार, प्रबिधि

सामग्री लेखक:   Ashok Kumar Mandal

   

पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका ५ जना सिकारी मृत जरायो र हातहतियारसहित पक्राउ परेका छन् ।

उनीहरुबाट मृत अवस्थामा पोथी जरायो, भाले जरायोको टाउको, नाइट भिजन दुरबिन, हातहतियार बरामद भएको निकुञ्जले जनाएको छ ।

पर्साको सखुवाप्रसौनी गाउँपालिकाको अकवनियास्थित राष्ट्रिय वनमा सिकार खेल्न गएका ५ जनालाई राष्ट्रिय निकुञ्ज प्रशासन र नेपाली सेनाको संयुक्त गस्ती टोलीले सोमबार राति साढे ११ बजेको समयमा नियन्त्रणमा लिएको हो ।

निकुञ्जका अनुसार पक्राउ पर्नेमा अकवनियाका झापस दास थारु, नवराज बस्नेत, काभ्रे घर भइ अनवनिया बस्ने दामोदार अधिकारी, खजुरिया निवासी मालदोङ तामाङ र विकास सहनी पक्राउ परेका हुन् ।

पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सूर्य खड्काका अनुसार ‘महा–हन्ट’ अभियान अन्तर्गत निकुञ्ज प्रशासन र सेनाको संयुक्त गस्ती टोलीले सोमबार राति ५ जना सिकारीलाई पक्राउ गरेको हो ।

राष्ट्रिय निकुञ्ज तथा संरक्षण ऐन २०२९ बमोजिम उनीहरुमाथि अनुसन्धान अगाडि बढाउने उनले जनाए ।

‘विशेषगरी जाडोमा महा हन्ट अभियान सञ्चालन हुने गर्छ,’ उनले भने, ‘महा हन्ट अभियान अन्तर्गत नै ५ जना सिकारी नियन्त्रणमा आएका हुन् ।’

सूचना अधिकारी खड्काका अनुसार सिकारीहरु ल्यान्ड क्रुजर र बोलेरो गाडीमा जंगल छिरेका थिए ।

उनीहरुबाट टाउकोमा गोली लागेको एउटा मृत पोथी जरायो, एउटा भाले जरायोको टाउको, १२ बोरको बन्दुक एक थान, ९ थान गोली, आधुनिक हातियार राख्ने एउटा झोला, रातको समयमा हेर्ने दुरबिन, आइफोन १४ म्याक्स मोबाइल, २ लाख ९० हजार नगद, एक हजार दुई सय भारतीय रुपैयाँ बरामद भएको खड्काले बताए ।

‘उनीहरु पेसेवर सिकारी नै हुन्,’ खड्काले भने, ‘नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको छ, जंगल क्षेत्रमा गस्ती समेत बढाइएको छ ।’