|

मधेश प्रदेशमा १२ जनाले लिए 'मधेशी भाषा' मा सपथ,

2 वर्ष पहिले     336 सामग्री पोस्ट दृश्य

निर्वाचन

सामग्री लेखक:   Ashok Kumar Mandal

   

मधेश प्रदेशका नव निर्वाचित प्रदेश साँसदहरुले शुक्रबार (आज) पद तथा गोपनीयताको सपथ खाएका छन् । 

प्रदेशसभाका १०४ सांसदले पद तथा गोपनियताको सपथ लिएका हुन् । उनीहरुलाई प्रदेशसभाका जेष्ठ सदस्य ७१ वर्षीय गोविन्दबहादुर न्यौपानेले सपथ ग्रहण गराएका हुन् ।

 

शुक्रबार भएको सपथ ग्रहण कार्यक्रममा १२ जनाले मधेशी भाषामा सपथ लिएका छन् । जनमत पार्टीका प्रदेश साँसदहरुले मधेशी भाषामा सपथ लिएका छन् । सो मध्ये सतिश कुमार सिँहले मात्र मैथिली भाषामा सपथ लिएका छन् । 

जनमत पार्टीबाट ईन्जिनीयर बसन्त कुशवाहा, चन्दन सिँह, सँजय यादव, शम्भु साह, बबिता राउत, सकिल अलि मियाँ, त्रिभुवन साह, महेश प्रसाद यादव, रँजु कुमारी मण्डल खँग, अनिता कुमारी साह, भाग्यश्री चौधरी र हसिना खातुनले मधेशी भाषामा सपथ लिएका छन् । 

जनमत पार्टीको मधेश प्रदेशमा प्रत्यक्ष एवम् समानुपातिक गरी १३ सदस्यहरुमध्ये १२ जना मधेशी भाषामा र १ जना मैथिली भाषामा सपथ लिएका छन् । 

मधेश प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी १०७ प्रदेश सांसद छन् । माओवादी केन्द्रका रजिहैदर र माला कर्णको सपथमा ग्रहण लागेको हो । 

क्लस्टर विवादको कारण सर्वोच्च अदालतले दुबैजनालाई तत्काल शपथ नगराउन आदेश दिएकोले उनीहरुको सपथ नगराइएको प्रदेश सभा सचिव रञ्जित यादवले बताए ।

दुबैजना समानुपातिक सांसद हुन् । १० वटा दल र ५ स्वतन्त्र सांसदको प्रतिनिधित्व प्रदेशसभामा छ ।

प्रदेशसभामा २३ सांसदसहित नेकपा एमाले पहिलो, २२ सांसदसहित नेपाली कांग्रेस दोश्रो र १६ सांसदसहित जनता समाजवादी पार्टी (जसपा) तेश्रो र १३ सांसदसहित जनमत पार्टी चौथो दल छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीको ७ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन् । यस्तै पाँचजना स्वतन्त्र सांसद छन् ।

मधेश प्रदेशमा कुल ९ भाषामा लिइएको सपथ मध्ये नेपाली भाषामा ५६, बज्जिकामा १३, मधेशी भाषामा १२, मैथिलीमा ११, भोजपुरीमा ७, थारुमा ३, मगहीमा २, हिन्दीमा २ र उर्दू मा १ जनाले सपथ लिएका हुन् ।