|

जनमत पार्टीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिसँग माग्यो ६ महिनाको कार्यप्रगति विवरण

2 वर्ष पहिले     202 सामग्री पोस्ट दृश्य

निर्वाचन, समाचार

सामग्री लेखक:   Ashok Kumar Mandal

   

जनमत पार्टीले स्थानीय तहमा निर्वाचित आफ्नो पार्टीका जनप्रतिनिधिहरूसँग ६ महिनाको कार्यप्रगति विवरण मागेको छ ।

सोमबार पार्टी अध्यक्ष डा.सीके राउतले पत्र लेख्दै जनमतबाट निर्वाचित स्थानीय जनप्रतिनिधिसँग ६ महिनाको कार्यकाल पूरा गर्दा आफूले गरेको कार्यसम्पादनको प्रतिवेदन ७ दिनभित्र केन्द्रीय सचिवालयलाई पठाउन निर्देशन दिएका हुन् ।

पत्रमा भनिएको छ, ’जनमत पार्टीको अवधारणा लागू गर्न के–कस्ता कार्यक्रमहरू सञ्चालनमा ल्यानुभयो, जनसरोकारका विषयहरूलाई सम्बोधन गर्न के–कस्तो पहल गर्नुभयो ? जनमत पार्टीको स्थानीय समिति र कार्यकर्ताहरूसँग समन्वय कस्तो रह्यो आदि विवरण प्रतिवेदनमा समावेश गर्नुहुन अनुरोध छ ।’

अध्यक्ष राउतले पार्टीको वडा र पालिका समितिलाई पनि पत्र लेख्दै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यमूल्यांकनबारे प्रतिवेदन पठाउन निर्देशन दिएका छन् ।

पत्रमा भनिएको छ, ’उपरोक्त सम्बन्धमा जनमत पार्टीबाट तपाईंको वडा÷पालिकामा निर्वाचित भएका जनप्रतिनिधिहरू(अध्यक्ष/उपाध्यक्ष/प्रमुख/उपप्रमुख/वडाअध्यक्ष/वडासदस्य) को विगत ६ महिनाको कार्य मूल्याङ्कनको प्रतिवेदन पठाउनु हुन अनुरोध छ । निर्वाचित जनप्रतिनिधिहरूले जनमत पार्टीको अवधारणा लागू गर्न के– कस्ता कार्यक्रमहरू संचालनमा ल्याए, जनसरोकारका विषयहरूमा उपलब्धि कस्तो रह्यो, जनमत पार्टीको स्थानीय समिति र कार्यकर्ताहरूसँग समन्वय कस्तो रह्यो, जनप्रतिनिधिको काम कारबाहीप्रति जनता कति सन्तुष्ट छन् र जनप्रतिनिधि जनता र पार्टी प्रति कति जिम्मेबार छन् समेत विवरण प्रतिवेदनमा समावेश गर्नु हुन अनुरोध छ ।’

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जनमत पार्टीबाट सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा दुई वडासहित प्रमुख र बलान बिहुल गाउँपालिकामा दुई वडासहित अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका थिए । त्यस्तै अध्यक्ष राउतको गृहपालिका महादेवा गाउँपालिकाको एउटा वडामा जनमत विजयी भएको थियो । जनमतले कुल १९ वटा वडामा अध्यक्ष पद जितेको थियो ।