|

प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने

2 वर्ष पहिले     311 सामग्री पोस्ट दृश्य

निर्वाचन

सामग्री लेखक:   Ashok Kumar Mandal

   

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिने भएका छन् ।

उनले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखेर आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् ।

उनले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गरेका हुन् । गठबन्धन सरकारका प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वास लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

२७५ सदस्यीय प्रतिनिधिसभाको विश्वास लिन प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ । प्रधानमन्त्री प्रचण्डले ११ पुसमा शपथ लिएका थिए । विश्वासको मत पाएपछि मात्र उनले मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएका छन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।