|

शहिदनगरका पूर्व मेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

2 वर्ष पहिले     258 सामग्री पोस्ट दृश्य

निर्वाचन

सामग्री लेखक:   Ashok Kumar Mandal

   

शहिदनगर नगरपालिकाका तत्कालिन मेयर उदयकुमार बरबरियाले कृषि सडकको नाममा अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

सोमबार अख्तियारले सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिएका छन् ।

२०७४÷७५ मा तत्कालिन मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगायत १२ जनाले कृषि सडक निर्माण कार्यमा रकम निकासा भएकोमा उक्त रकम हिनामिना गरेको उजुरी परेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा भ्रष्टाचार भएको ठहरभएपछि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

आर्थिक वर्ष २०७४÷७५ मा शहिदनगर नगरपालिका वडा नं. ८ स्थित विसरभोरा नहरदेखि गोठ कोयलपुर सीमासम्म कृषि सडक निर्माण गर्दा फिल्डमा भएको कामभन्दा बढी काम गरेको भनी गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको र लागत इस्टिमेट र कार्यसम्झौता अनुसार काम गर्ने भनिएतापनि लागत बढाई, बढाउन लगाई बढी भुक्तानी दिने र लिने काम गरी २ लाख १२ हजार ८१६.२३ रुपैयाँ बराबरको सरकारी रकम हानिनोक्सानी गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।