|

ऋण तिनु पर्दैन’ भन्ने आन्दोलनको अन्तर्य

2 महीना पहिले     66 सामग्री पोस्ट दृश्य

समाचार

सामग्री लेखक:   Ashok Kumar Mandal

   

पछिल्ला तीस वर्षमा नेपालको वित्तीय क्षेत्र फैलँदै गएको छ । उद्योग, व्यापार गर्ने बढेका छन्, उत्पादन बढेको छ, राजस्वमा योगदान बढ्दो छ । तर, यो क्षेत्रलाई अस्थिर र सङ्कटग्रस्त बनाउन ‘ऋण तिर्नुपर्दैन’ जस्ता आन्दोलन हुन थालेका छन् ।

कुनै समय थियो जोसँग धेरै दासदासी हुन्थे, ऊ धनी र सम्पन्न कहलिन्थ्यो । जसलाई ‘दास युग’ भनियो । त्यो समयकै सेरोफेरोमा हुनुपर्छ जोसँग धेरै पशुधन थियो, उसैलाई धनी र सम्पन्न मानिन्थ्यो । दास युगमा दासलाई खान दिएर पाल्न भन्दा अलिकति जमिन दिएर ‘यो जमिनमा काम गर, उत्पादन गरेर मलाई यति देऊ, अरू तिम्रो भयो’ भन्दा जमिनदारले फाइदा देख्न थाले, त्यसै गरे ।

त्यसपछि दास युगको समाप्त भएर सामन्त युगको सुरुआत भयो । जग्गा–जमिनका मालिक जमिनदार अर्थात् सामन्त र तिनका खेतबारीमा काम गर्ने अधियाँर, कमैया, मोही आदि नामले पुकारिन थाल्यो । त्यो समयमा ‘सामन्त’ सम्मानित पद थियो । सामाजिक र आर्थिक हैसियत उच्च थियो । सत्ता र शासकहरूसँग नजिकको सम्बन्ध हुन्थ्यो । त्यसैले यस्ता सामन्तको हितमा राज्यले काम गथ्र्याे ।

कालान्तरमा खेती गर्ने मानिस अर्थात् किसान स्वतन्त्र हुन थाले । उत्पादन गर्ने जमिनका आफैं मालिक बन्न पुगे । यसमा परिवारको लागि आवश्यक कृषि उपजको उत्पादन गरे । यसले परिवारको निर्वाह हुने अवस्था बन्यो । यसैलाई निर्वाहमुखी कृषिको समय भनियो । यो बेलासम्म बजारको विकास र विस्तार धेरै भएको थिएन । मानिसका आवश्यकता सीमित थिए । त्यसैले गाउँ आत्मनिर्भर थिए ।

औद्योगिक क्रान्ति, मेसिनको आविष्कार, प्रविधिको विकास, सडक, रेल र हवाई मार्गको विकाससँगै शहर बस्न थाले, गाउँबाट मानिस शहरमा बसाइँ सर्न थाले । शहरमा बस्नेको उपभोग शैलीका कारण उत्पादन र बजारको विकास भयो । बजारको माग अनुसार उत्पादन हुन थाल्यो । उत्पादनले उपभोक्ता र बजार बनाउन थाल्यो । उत्पादन, सेवा, श्रम र बजारले धेरै मानिसको रोजगारी सिर्जना गर्‍यो ।

निर्वाहमुखी कृषिको युगबाट जसै मानिस वैश्य (व्यापारी) युगमा प्रवेश गरे राज्यका चरित्रहरू त्यसै अनुरूप बन्न थाले । जुन देशका शासकहरू जति बढी व्यापारी सोचका भए त्यति नै बढी देश समृद्ध हुँदै गयो । जसले यो सोचको विकास गर्न सकेन, ढिलो गर्‍यो र सोचेर पनि त्यसअनुरुपको चरित्र निर्माण गर्न सकेन, उनीहरू पछिपरेका छन् ।

प्रविधि, अनुसन्धान, यन्त्र–उपकरण, यातायात, बजार, उपभोगको शैली आदि कारणले मानिसलाई नजिक बनायो । अब दुनियाँमा उत्पादक छन् र उपभोक्ता छन् । कृषि पनि निर्वाहमुखीबाट व्यापारिक उत्पादनमा रूपान्तरण हुँदैगयो । वस्तु र सेवाका उत्पादक–उत्पादक बीच लडाइँ छ ।

कसले बढी उपभोक्तालाई आफ्नो सेवा र सामान बिक्री गर्ने भन्नेमा होड छ । आफ्ना उत्पादन र सेवाका बनिबनाउ उपभोक्तालाई निरन्तर आफ्नो कब्जामा राखिराख्ने, अरूका उपभोक्ता खोस्ने, नयाँ–नयाँ उपभोक्ता बनाउँदै जानेहरूका बीचमा अघोषित र घोषित युद्ध अविच्छिन्न रूपमा भइरहेको छ । यो नै वैश्य युगको विशेषता हो ।

राज्यको चरित्र यस्ता आफ्ना उत्पादक र सेवा प्रदायक कम्पनीको हितमा नीति बनाउनु र तिनको सुरक्षामा काम गर्नु बनेको छ । रोजगारी सिर्जना गरेर धेरैभन्दा धेरै मानिसका हातमा काम पुर्‍याउनु र देशको ढुकुटीमा कर तिराएर देश सम्पन्न बनाउन यस्ता ठूला–साना कम्पनीको भूमिका महत्वपूर्ण भएको छ । यसलाई जसले छिटो बुझे उनले त्यसै अनुरूपको सामाजिक, सांस्कृतिक, आर्थिक चरित्र निर्माण गर्न राजनीतिलाई परिचालन गरे ।

सन् १९६५ मा मलेसियाबाट बलपूर्वक छुट्याइएको गरीब सिङ्गापुरले विदेशी लगानीका लागि अनेकन् सुविधा दिएर अमेरिकन कम्पनीलाई सिङ्गापुरमा उद्योग खोल्न लगाए । कम्पनीबाट सुरुमा आफ्ना नागरिकलाई रोजगारी उपलब्ध गरायो ।

यसबाट सिकेर कालान्तरमा देशभित्रैबाट ठूला–ठूला कम्पनी स्थापना गरेर विश्व बजारमा सेवा र वस्तु बिक्री गरेर देशलाई धनी बनाए । सन् १९९० सम्म उजाड बनेको दुबई (युनाइटेड अरब इमिरेट्सको एक प्रान्त) विश्वका व्यापारीलाई व्यापार गर्न बोलाएर, अनुकूल वातावरण बनाइदिएर आजको ‘सम्पन्न दुबई’ बन्न सफल भयो ।

चीन, अमेरिका एकअर्काका दुश्मन हुन् भन्दा फरक पर्दैन । त्यस्तै भारत र चीन पनि असल मित्र, असल छिमेकी हुँदै होइनन् । तर वैश्य युगको प्रभाव यस्तो जबर्जस्त छ कि सिमानामा चीन र भारतका सैनिक बीचमा युद्ध र हताहती हुँदा पनि दुई देशबीचको व्यापार रोकिंदैन ।

अमेरिका र चीनका बीचमा विश्वको जुनसुकै मोर्चामा प्रतिस्पर्धा छ । एकले अर्कालाई क्षति पुर्‍याउन कुनै कसर बाँकी राख्दैनन् । तर यी देशका बीचको व्यापार चलिरहन्छ । चीन भारतका हुन् वा चीन अमेरिकाका कार्यकारी प्रमुखका बीचमा शिखर वार्ता हुँदा मुख्य विषय व्यापार हुने गर्छ । यो किन हुन्छ भने दुई देशका बीचमा हुने व्यापारले ती देशका जनताको हित गरिरहेको हुन्छ ।

यी केही उदाहरण हुन् । संसारभर यस्तो भइरहन्छ । अहिले सबै देशका राजदूतको पहिलो काम आफ्नो देशको व्यापार बढाउन भूमिका खेल्नु हुन्छ । त्यसमा कसले कति गर्न सक्छन् त्यो बेग्लै कुरा हो । तर मुख्य विषय त्यो देशमा आफ्नो देशको उत्पादन र सेवाको लागि बजार विस्तार गर्नु हो ।

अब लागौं नेपाल–भारतको सम्बन्ध र राष्ट्रिय हितका बारेमा । नेपाल चीन र भारतका बीचमा परेर मात्रै सानो र थोरै जनसङ्ख्या भएको देश हो कि जस्तो लागेको । विश्व मानचित्रमा हेर्दा नेपाल न जनसङ्ख्यामा न क्षेत्रफलमा नै सानो हो । अझ सामरिक महत्वका हिसाबले दक्षिणपूर्वी एशियामा अति महत्वपूर्ण स्थानमा छ ।

त्यसैले नेपाल कस्तो भयो भने शक्ति राष्ट्रहरूलाई फाइदा हुन्छ ? नेपाल कस्तो भयो भने छिमेकी भारत र चीनलाई फाइदा हुन्छ ? यो उनीहरूले आकलन गरेका हुन्छन् । आफ्नो राष्ट्रिय हित केमा छ ? त्यसको खोजी उनीहरूले गरेका हुन्छन् । त्यसै अनुरूपको नीति र व्यवहार हामीमा छिमेकीले गर्छन् । कति भन्न मिल्छ, कति मिल्दैन ।

नेपालमा पेट्रोलियम पदार्थको प्रचुर उत्खनन् र प्रशोधन भयो भने भारतलाई फाइदा हुन्छ कि उसले गरिरहेको नेपालसँगको तेलको व्यापार सुक्छ ? नेपालमा ठूला–ठूला उद्योग कारखाना बनेर यहीं धेरै वस्तु र सेवाको उत्पादन भयो भने के हुन्छ ? त्यसले नेपाल, भारत र विश्व बजारमा उपभोक्ता माझ भारतीय वस्तु तथा सेवासँग प्रतिस्पर्धा गर्न थाल्यो भने भारतलाई नाफा गर्छ कि घाटा ? नेपालमा पर्याप्त कृषिको उत्पादन भयो, कृषिलाई चाहिने मल, बीउ, विषादी, औजार–उपकरण आदिको विकास भयो र कृषिमा नेपाल आत्मनिर्भर भएर निर्यात गर्न थाल्यो भने भारतलाई फाइदा हुन्छ कि बेफाइदा ?

नेपालमा कच्चा फलामको खानी छ, उत्खनन् गर्न सजिलो पनि छ । यस्तो खानीमा लगानी गर्न स्वदेशी र विदेशी तयार छन् तर यो काम भएको छैन । अहिले नेपालमा खपत हुने कच्चा र प्रशोधित फलाम लगभग सबै भारतबाट आयात हुन्छ । यसले भारतको व्यापार भएको छ ।

नेपालमा प्रशस्त अस्पताल बने, स्कुल कलेज खोलिए र नेपाली कसैले उपचार गर्न, पढ्न भारत जानु नपर्ने भयो बरु भारतीयहरू यहाँ आएर उपचार गर्न र पढ्न थाले भने भारतलाई फाइदा हुन्छ कि बेफाइदा ? नेपालमा प्रशस्त पर्यटकीय गन्तव्य बने भने के हुन्छ ? यसरी धेरै भारतीय पर्यटक बनेर नेपालमा खर्च गर्न आए भने भारतलाई फाइदा हुन्छ कि बेफाइदा ? विश्वका पर्यटक भारतमा आउँदा तिनले भारतको बसाइ केही दिनलाई छोट्याएर नेपालमा आए र यतै खर्च गर्न थाले, रमाउन थाले भने भारतलाई फाइदा हुन्छ कि बेफाइदा ?

नेपालमा जलविद्युुत्को विकास होस् भन्ने त चाहन्छ भारत तर शर्त के भने त्यो भारतीय लगानीमा नै बन्नुपर्छ भन्छ । चिनियाँ लगानीमा बनेको बिजुली किन्दिनँ भन्छ । यस्ता अनेकन् क्षेत्रमा भारतको चासो रहेको कुरा घामजत्तिकै छर्लङ्ग छ । भारत के चाहन्छ ? अर्थात् भारतलाई के गर्दा फाइदा हुन्छ ?

भारतको श्रम बजारमा नेपालीले जुन स्तरको काम र रोजगारी पाएका छन् त्योभन्दा उच्चस्तरको काम र राम्रो कमाइका लागि भारतीयहरू नेपालमा छन् । उनीहरूले हरेक वर्ष ठूलो रकम नेपालमा काम र व्यवसाय गरेर भारतमा पठाउँछन् । भारत उनीहरूको सुरक्षा, कामको सुरक्षा र सहजता चाहन्छ ।

नेपालको बजारमा बिक्री हुने खाद्यान्न, तरकारी, फलफूल, मसला, डेरीजन्य उत्पादन, माछा आदि भारतीय नै बिक्री हुन्छन् । घर, सार्वजनिक स्थल निर्माणका लागि चाहिने कैयौं सामान भारतबाटै आयात गरिन्छ ।

दैनिक उपभोगका सामान, लत्ता कपडा लगायत कैयौं सामग्री, सवारी साधन, मेसिनरी, पार्टपुर्जा, टायर, लुब्रिकेन्ट, औषधि, उद्योगका कच्चा पदार्थ, औजार–उपकरण आदि हामी धेरैजसो भारतकै उपयोग गर्छौं । यसरी हेर्दा नेपालका झण्डै तीन करोड जनता भारतका उपभोक्ता भएका छौं । यसले भारतमा धेरै ठूलो रोजगारी सिर्जना गरेको छ ।

नेपालीले खर्च गर्ने पैसा कहाँबाट ल्याउँछन् ? नेपालभित्रको उत्पादन, उद्योग, सेवा–व्यवसाय त्यति राम्रो छैन । तर पनि नेपालीले उपभोगमा ठूलो पैसा खर्च गर्ने हैसियत राख्छन् । त्यसको मुख्य स्रोत भनेको विदेशमा कामका लागि गएका नेपालीले पठाउने रेमिट्यान्स हो ।

यस्तो रेमिट्यान्सले पूँजीको रूपमा प्रयोग भएर नेपालमा उत्पादन बढाउने, आयात कम गर्ने र देश एकपछि अर्को कुरामा आत्मनिर्भर हुँदै जाने हो भने भारतीय उत्पादन र सेवाको ठाउँ नेपाली उत्पादनले लिन थाल्छन् । यसो भएमा भारतको नेपालसँग भइरहेको व्यापार खुम्चिन जान्छ जुन भारतको हितमा छैन, हँुदैन । यसलाई भारतले मसिनो अध्ययन गरेको छ, बुझेको छ ।

नेपालमा कुनै अलि ठूलो विदेशी लगानी आउन लाग्यो भने यसमा भारतको चासो हुन्छ । एउटा सानो उदाहरणः नेपालमा प्रति वर्ष तीन हजार मेट्रिक टन हाइब्रिड मकैको बीउ चाहिन्छ । त्यो सबै भारतबाट आयात हुन्छ ।