|

जनकपुरले तेस्रो जीत, पोखरालाई ७ विकेटले हरायो

20 दिन पहिले     43 सामग्री पोस्ट दृश्य

समाचार

सामग्री लेखक:   Ashok Kumar Mandal

   

नेपाल प्रिमियर लिगमा बिहीबार तेस्रो खेल अन्तरगत जनकपुर वोल्ट्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्न सफल भएको छ ।

 

जनकपुर वोल्ट्सको लागि यो लगातार तेस्र्रो जीत हो । यस अघि जनकपुर वोल्ट्सले पोखरा र विराटनगरलाई हराएको थियो । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । जनकपुरले यसअघि विराटनगर किंग्स र कर्णाली याक्सविरुद्ध समान आठ विकेटको जित निकालेको थियो ।

जनकपुरको जितमा लहिरु मिलान्थाले ४५ रन बनाए । उनले ३२ बलमा आठ चौका प्रहार गरे । लहिरुलाई १०औँ ओभरको पाँचौँ बलमा माइकल लियस्कले सागर ढकालबाट क्याच गराएका थिए । ओपनर आसिफ सेखले ३४ बलमा तीन चौकासहित ३३ रन बनाए । आसिफलाई १३औँ ओभरको तेस्रो बलमा कुशल भुर्तेलले विपीन खत्रीबाट क्याच गराएका थिए ।१०–१ को स्थितिबाट लहिरु र आसिफले तेस्रो विकेटका निम्ति ७२ रनको साझेदारी गर्दै जनकपुरलाई जित नजिक पुर्याएका थिए । 

आक्रामक रुपमा प्रस्तुत भएका जिम्मी निसमले २० बलमा अविजित ४० रन बनाए । उनले पाँच छक्का प्रहार गरे । निसमसँगै अविजित रहेका हर्ष थाकेरले १४ बलमा १३ रन बनाए ।आजको खेलमा ओपनर तथा कप्तान अनिल साह भने एक रनमै आउट भए । यसअघि कर्णालीविरुद्ध अर्धशतक बनाएका अनिललाई दोस्रो ओभरको दोस्रो बलमा विपीन खत्रीले एलबीडब्लूको धरापमा पारेका थिए ।

जनकपुरविरुद्ध फितलो बनेको पोखराबाट बलिङमा विपीन खत्री, माइकल लियस्क र कुशल भुर्तेलले समान एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रनको योगफल खडा गरेको थियो ।

पोखराका मार्कस क्रिटचेलीले सर्वाधिक ३५ रन बनाए । ललित राजवंशीले गरेको १६.३ ओभरमा अनिल साहबाट क्याच हुनुअघि उनले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरे ।माइकल लियस्कले २५ रन बनाए । २०औँ ओभरको चौथो बलमा आउट भएका लियस्कले १३ बलमा तीन छक्का प्रहार गरे । उनलाई किशोर महतोले आसिफ सेखबाट क्याच गराए । आन्द्रियस गौसले १६ बलमा तीन चौका र एक छक्कासहित २० रन थपे । गौसलाई ललित राजवंशीले आसिफ सेखबाट क्याच गराए । रेमन रेफरले २० बलमा एक चौकासहित १७ रन थपे । रेफरलाई जिम्मी निसमले १८.३ ओभरमा अनिल साहबाट क्याच गराए । ओपनर दीनेश खरेल र दीलिप नाथले क्रमशः १० र ११ रन थपे ।

जनकपुरका ललित राजवंशीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३१ रन थपे । जिम्मी निसमले दुई विकेट लिए । किशोर महतो र मोहमद मोहसिनले समान एक विकेट लिए । एनपीएलमा जनकपुरको यो तेस्रो खेल हो । यसअघि जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स र दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध समान आठ विकेटको जित निकालेको थियो ।  प्रतियोगितामा पोखराको भने यो दोस्रो हार हो । पोखराले यसअघि चितवन राइनोजसँग ८७ रनको हार व्यहोरेको थियो ।